नेकपा एमाले अछामले जिल्लाका १० वटै पालिकामा जनप्रदर्शन कार्यक्रम गरेको छ । ‘प्रतिगामी षड्यन्त्र’विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार अछाम जिल्लाका पनि सबै पालिकाहरुमा जनप्रदर्शन कार्यक्रम गरेको हो । नेकपा एमालेको हालै बसेको केन्द्रिय कमीटीको बैठकले देशभरीका ७ सय ५३ वटै पालिकाका वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । सोही निर्णय बमोजि अछाम जिल्लाका ९१ वटै वडा र १० वटै पालिकामा जनप्रदर्शन गरिएको र कात्तिक २९ गते सदरमुकाम मंगलसेनमा बृहत विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले अछामका सचिव हिरण्ड प्रसाद भट्राइले बताउनुभयो ।
उक्त कार्यक्रममा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद्को गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकतालाई जानकारी गराउने कार्यक्रम समेत रहेको सचिव भट्राइको भनाई छ । मंगलबार जिल्लाका १० वटै पालिकाको केन्द्रमा आयोजना गरिएको कार्यक्रममा ¥याली सहित बजार परिक्रमा गर्दै कोणसभा गरिएको थियो । कोणसभा कार्यक्रमलाई पार्टीका केन्द्रिय, प्रदेश र जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
मंगलसेनमा भएको कोणसभा कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटीले वर्तमान सरकारले गरेका असंवैधानिक कामहरुको विरोधगर्दै त्यसका विरुद्धमा नेकपा एमाले देशभर जागेको बताउनुभयो । जेनजी आन्दोलनका नाममा मुलुकलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भईरहेकाले देशभक्त नागरिकले यसका विरुद्ध आवाज उठाउनुपर्ने उहाको भनाई छ । वास्तविक जेनजीहरुले यस्तो आपराधिक गतिविधि गर्नै नसक्ने भन्दै नेता बोगटीले केही निश्चित समूहबाट परिचालित आपराधिक मानसिकता भएका व्यक्तिहरुले विधाेंश मच्चाएकाले त्यस्ता व्यक्तिहरुको पहिचान गरि कार्बाही गर्न माग समेत गर्नुभएको छ ।
पुर्व सांसद समेत रहनु भएका नेता बोगटीले वर्तमान सरकार चुनाव गराउन नसक्ने दाबी गर्दै असंवैधानिक बाटो बाट प्रधानमन्त्रीमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीलाई संसद विघटन गर्ने अधिकारी नभएको समेत बताउनुभयो । अब संसद पुर्नस्थापना र सर्वपक्षिय सरकार गठन गरि देशलाई निकाश दिनुपर्नेमा जोड दिनुभएको थियो । एमालेका कार्यकर्ताहरु डराएर नभई हिम्मतका साथ पार्टीको पक्षमा उभिन आग्रह गर्दै पार्टीको अनावश्यक रुपमा विरोध गर्नेलाई ठेगा लगाउन समेत अनुरोध गर्नुभएको छ ।
मंगलसेन नगर कमीटी अध्यक्ष डम्बर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य भैरे कामी, पार्टीका प्रदेश कमीटी सदस्य भिम जनाला, एमाले अछामका अध्यक्ष शिव प्रसाद उपाध्याय, पुर्व अध्यक्ष चन्द्र बहादुर बोहरा, पुर्व सचिव भिम रावल कालोटोपी लगायत एमालेका नेताहरुको सहभागिता रहेको थियो । यस्तै जिल्लाको साफेबगर नगर कमिटी, कमलबजार नगर कमिटी पालिका, पंञ्चदेवल विनायक नगर कमिटी, रामारोशन गाउँपालिका कमिटी, मेल्लेख गाउँपालिका कमिटी, ढकारी, चौरपाटी, तुर्माखाद गाउँपालिका कमीटीले पनि जनप्रदर्शन कार्यक्रम गरेका छन । स्थानीय पालिका कमीटीहरुले कात्तिक २९ गते मंगलसेनमा हुने जिल्ला स्तरिय बृहत जनप्रदर्शन कार्यक्रमको तयारी समेत गर्न थालेका छन ।
