अछाम जिल्लाको कमलबजार नगरपालिका–५ लयटा टोलमा अवस्थित ऐतिहासिक मुङ्ग्रा धारा संरक्षणको पहल सुरु गरिएको छ। ऐतिहासिक अभिलेख र स्थानीय जानकारीअनुसार, यो धारा बाह्रौँ शताब्दीको अन्त्य र तेह्रौँ शताब्दीको सुरुवातमा, यक्ष मल्लको शासनकालमा इला अगनेत्रीको तीनतले घरभित्र निर्माण गरिएको मानिन्छ।
इला अगनेत्रीको चौथो पुस्ता अर्थात् पनाति तिर्थ अगनेत्रीको पालामा भएको आगलागीका कारण घर जलेर नष्ट हुँदा सो मुङ्ग्रा धारा पनि प्रयोगबाहिर गएको र संरक्षण नहुँदा क्रमशः जिर्ण हुँदै गएको जनाइएको छ।
धाराको ऐतिहासिक महत्त्व पुनःस्थापित गर्न स्थानीय बासिन्दा सक्रिय भएका छन्।
कमलबजार नगरपालिका–५ का वडाध्यक्ष सत्यराज तिमिल्सिनाका अनुसार, “यो धारा हाम्रो पुरानो ऐतिहासिक सम्पदा हो। स्थानीयवासी र अगनेत्री परिवारको पहलमा यसको अवस्था बुझ्न सुरु गरिएको छ । हामी वडास्तरबाट पनि संरक्षण र अध्ययनका लागि आवश्यक पहल गर्दैछौं,” उहाँले बताउनुभयो।
स्थानीय समुदायले सबै सरोकारवालाहरूलाई मुङ्ग्रा धारा संरक्षण, अध्ययन र पुनर्जीवनमा सहकार्य गर्न अनुरोध गरेका छन्।
