अछाम कार्तिक २४ ।
अछाम जिल्लामा रहेको छाउपडीप्रथाको अन्त्यका लागि आ आफ्नो क्षेत्र बाट सहयोग गर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले प्रतिबद्धता जनाएका छन । यही प्रथाको कारणले आज जिल्लाकै बेइजत भएको भन्दै हरेक वर्ष यसै प्रथाको बारेमा बहस र छलफल गर्ने प्रवृतिको अन्त्य गर्नका लागि पनि अब यो प्रथाको अन्त्य हुन आवश्यक रहेको सरोकारवालाको भनाई थियो । सामाजिक सचेतना अभिवृद्धि सम्बन्धि मंगलसेनमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अब बोलेर मात्र होइन व्यवाहारमा पनि लागुगर्न आवश्यक रहेको बताएका छन । राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन आवश्यक रहेको उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण पौडेलले महिलाहरुलाई हेर्ने दृष्टिकोण अहिलेपनी परिवर्तन नआएको गुनासो गर्नुभएको छ । महिलालाई विभिन्न कारण देखाउदै उनीहरुलाई राजनितिक, आर्थिक र सामाजिक रुपमा पछाडी पार्ने काम भईरहेको बताउनुभयो । महिलाहरुको साथमा राष्ट्रिय महिला आयोग रहेकाले महिलाहरु माथि हुने हिंसा न्युनिकरणका लागि प्रहरी प्रशासनले खुट्टा कमाउन नहुने उहाको भनाई छ । अहिले पनि महिलाहरुका समस्याहरु धेरै रहेको तर उनीहरु कानुनी निकाय सम्म पुग्न नसक्दा आफु माथि जस्तो खालको अन्याए भएपनी सहेर बसेको बताउनुभयो । प्रहरीले कडाईका साथ यो अभियानमा लाग्न आवश्यक रहेको भन्दै उहाले प्रहरी हिंसा पिडित महिलाको साहारा बनेर वास्तविक रुपमा प्रहरी मेरो साथी भन्ने नारालाई आत्मसाथ गर्न अनुरोध गर्नुभएको छ । महिलाहरु आज समाजमा धेरै किसीमका अफठेरा झेली रहेकाले महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएकाले महिलालाई अवसर दिनुपर्छ भन्ने भावनाको विकास हुन आवश्यक रहेको उहाको भनाई थियो । महिलाहरुलाई हाम्रो धर्म संस्कृतिले पनि विभेद गरेको भन्दै राष्ट्रिय महिला आयोग सदस्य पौडेलले पुरुषले जे गरेपनी हुने तर महिलाले थोरै गल्तीगर्दापनि तिललाइ पहाड बनाउने हाम्रो प्रवृति रहेकाले महिलाहरुलाई पनि पुरुष सरहको व्यवहार गर्नुुपर्नेमा जोड दिनुभएको छ । महिलाहरु प्रयोग मात्रै हुने तर निर्णयक तहमा कहिलेपनि भूमिका नहुने भएकाले पनि उनीहरु कमजोर भएको बताउनुभयो । जब सम्म राजनिति गर्ने मान्छेहरुको सोच परिवर्तन हुदैन तबसम्म महिलाहरुका समस्या समाधान हुन नसक्ने जिकीर गर्नुभएको छ ।
कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले अछाम जिल्लामा यो प्रथाको अन्त्यका लागि धेरै किसिमका अभियानहरु संचालन भएकाले यो अवधि सम्म प्रथा अन्त्यका लागि सरकारी तथा गैरसकारी तवर बाट धेरै बजेज खर्च भईसकेको भन्दै अब हामी पुन एक पटक जुरुक्क उठ्न आवश्यक रहेको बताउनुभयो । आफु जहिले देखी सामाजिक अभियानमा हिडे त्यो दिन देखी यो प्रथाका विरुद्ध विभिन्न किसिमका सचेतनमा मुलक कार्यक्रमहरु संचालन गरेको हुदा अहिले पनि यो या त्यो बाहानामा छाउ मान्ने गलत संस्कारको अन्त्य हुन नसकेको भन्दै उहाले अब बोलेर मात्र होइन ब्यावहारमा पनि लागु गर्नुपर्नेमा जोड दिनुभएको छ । हाम्रो समुदायमा अहिले पनि कतिपय शिक्षित वर्गहरुकै घरमा यो समस्या देखिएको हुदा शिक्षित परिवारहरुले नमुना काम गरेर समुदायमा रहेका अन्य नागरिकहरुलाई प्रभावित बनाउन आवश्यक रहेको उहाको भनाई रहेको छ । आफ्नो पालिकाको तर्फबाट अब विशेष अभियान संचालन गर्ने प्रतिबद्धता जनाउदै नगर प्रमुख बोहराले जसले छाउप्रथा मान्छु यो छोड्दैन भन्छ त्यसलाई नेपाल सरकारले दिने सबै सेवा बाट बञ्चित गराउने चेतावनी समेत दिनुभएको छ । यो आट अछाम जिल्लाका १० वटै पालिकाले गर्न आवश्यक रहेको नगर प्रमुख बोहराको भनाई रहेको छ । सोही कार्यक्रममा बोल्दै पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले हामीले अब पनि यो प्रथाका विरुद्धमा अछाम जिल्लामा विशेष कार्यक्रम संचालन गर्ने होइन भने यसले पछिठुलो रुप लिदै जनो र यसपछीका पिढीले दुख पाउन सक्ने भन्दै हामी कठोर भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । म आफैपनी महिला भएकाले आफुले पालिकामा यस विषयमा थुप्रै पटक कार्यक्रम गरेको तर परिणम अपेक्षा गरे अनुसारको आउन नसकेको उहाको भनाई थियो । यो पुरानो हाम्रो संस्कार संग जोडिएको कुरा भएकाले पनि यसको अन्त्य हुन समय लागेकाले यसपाली अब अन्तिम पटक हामीले अभियान संचालन गर्न आवश्यक रहेको नगर प्रमुख चलाउनेको भनाई छ । आगामी दिनमा यसको लागि अभियान संचालन गरौ भनेर वर्षेनी यसैको पछी लाग्ने रकम र समय अन्य क्षेक्षमा खर्च गर्नुपर्नेमा जोडदिनुभयो । राज्य आज यस्ता क्षेत्रमा लगानी गर्न आनाकानी गरिरहेको पाईएकाले मान्छे जब सम्म सचेत हुदैन तबसम्म यस्ता कुरितीको अन्त्य गर्न समय लाग्ने उहाको भनाई थियो । कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालले आफु तत्कालिन समयमा गाविस अध्यक्ष हुदा देखीनै यो छाउपडी प्रथाका विरुद्ध लागेको अनुभव सुनाउदै लामो समय सम्म पनि यसको अन्त्य हुन नसकेकाले अब सिंगो अछाम जिल्ला एक भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ समुदायमा रहेका सबै क्षेत्रका व्यक्तिहरुले अभियाननै संचालन गरेर अघि बढेमा यो सम्भव ुहने नगर प्रमुख ढकालको भनाई छ । कार्यक्रममा साफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवँर, ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद, तुर्माखाद गाउँपालिका उपाध्यक्ष बीमला कुमारीशाही, चौरपाटी गाउँपालिका उपाध्यक्ष अनिता खड्का, मेल्लेख गाउँपालिका उपाअध्यक्ष नृप बहादुर खड्का, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
