रमिता बि क
कमलबजार, असार १५ । कमलबजार नगरपालिकामा २२ औँ राष्ट्रिय धान दिवस २०८२ रोपाई महोत्सव मनाइएको छ। कमलबजार नगरपालिका कृषि विकास शाखाको आयोजनामा २२ औँ राष्ट्रिय धान दिवस २०८२ भव्यताका साथ मनाएको हो। असार १५ मा दही चिउरा खाने परम्परा सहित धान रोप्ने सांस्कृतिक एवं कृषि प्रधान पर्व मनाउने गरिन्छ सोही अवसरमा कमलबजार नगरपालिकाले वडा नम्बर १ मुली स्थित स्थानीय दल बहादुर बिष्टको खेतमा धान रोप्ने कार्यक्रम परम्परागत रुपमा सम्पन्न गरेको छ।
राष्ट्रिय धान दिवसको पर्वमा दहीचिउरा परिकार परम्परागत रूपमा असार १५ मा खाने चलनले कृषकहरूमा सहनशक्ति दिने विश्वास गरिएको छ। साथै आज कमलबजार नगरपालिका कृषि विकास शाखाले आयोजना गरेको धान रोप्ने कार्यक्रममा मनोरञ्जनका रूपमा झरीका आवाजसँगै असारे भाका पाँगो खेल्ने र डोरी तान्ने कार्यक्रम समेत राखेको थियो।
धान रोप्ने कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट वडा नम्बर १ का वडाध्यक्ष भक्तबहादुर बोहरा इलाका प्रहरी कार्यालय कमलबजार प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर बिष्ट एवं नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि कर्मचारी सञ्चारकर्मी स्थानीय लगायत सम्पूर्णको उपस्थितिमा रोपाई महोत्सव परम्परागत रूपमा सम्पन्न भएको छ।
आज धानबालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता नारासहित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। कृषि प्रणालीलाई सशक्त बनाउने खाद्य सुरक्षामा सुधार गर्ने र चामल आयातमा निर्भरता घटाई आत्मनिर्भर बन्ने लक्ष्यलाई प्राथमिकता दिएको छ।

